मितिः २०८१/०३/१७
आदरणीय अभिभावक ज्यूहरु,
एस.ई.ई. व्याच २०८०,
हो.रा.लो.शा.शि.स.मा.वि.,
भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ ।
हार्दिक नमस्कार ।
शैक्षिक सत्र २०८० को एस.ई.ई. परीक्षाको नतिजा हालसालै प्रकासित भएको यहाँहरु सबैलाई अवगत नै छ । हाम्रो विद्यालय श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयकि छात्रा रञ्जिला क्षेत्रीले सर्वोत्कृष्ट नतिजा अर्थात् ४ जि.पि.ए. प्राप्त गरी हाम्रो विद्यालयलाई तनहुँ जिल्ला कै सर्वोत्कृष्ट विद्यालय बनाउन सफल भएकी छन् । यो खुशी र हर्ष यहाँहरु समक्ष हामी साझा गर्न चाहन्छौं ।
हामीले प्राप्त गरेको यो उपलब्धिलाई अब भविश्यमा समेत कायम गर्नु पर्नेछ । यसका लागि यहाँहरुको सकारात्मक सुझाव, सल्लाह र सुभेच्छाको हामी सदैव अपेक्षा गर्दै विद्यालय परिवार आवश्यक सुधार गर्न प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौं । भएको अवस्थालाई थप सुदृढ गरि समयसापेक्ष सिकाइ वातावरण निर्माणमा हामी जुटिसकेका छौं र जुट्ने छौं । हामीलाई सुधारात्मक सिकाइ वातावरण निर्माणका लागि यहाँको साथ, सहयोग र सद्भावको आवश्यकता पर्छ र यसका लागि आ-आफ्नो ठाउँबाट आवश्यक पहल गरि दिन हुन समेत अपिल गर्दछौं ।
समग्र विद्यालयीय विकास र समुन्नति हाम्रो साझा अभियान हो । यसलाई हामी हाम्रो सहकार्यबाट अगाडि बढाउँदै लैजाउँला । खासमा अहिलेको आवश्यकता हाम्रो एस.ई.ई. व्याच २०८० मा NG प्राप्त गरेका विद्यार्थीहरुलाई कसरी उत्तीर्ण गराउने? भन्ने नै हो । अब हामी यसमा केन्द्रित हुनु जरुरी छ ।
वास्तवमा परीक्षामा कुनै दुई विषयमा NG प्राप्त गरेका परीक्षार्थीहरुले मौका परीक्षा अर्थात् ग्रेडबृद्धि परीक्षामा सहभागी हुन पाउने प्रावधान लेटर ग्रेडिङ्ग पद्धतिमा उल्लेख छ । तर विद्यार्थीहरुको वृहत्तर हितका लागि नेपाल सरकार शिक्षा मन्त्रालयले एस.ई.ई. परीक्षामा जतिसुकै विषयहरुमा NG प्राप्त गरेका भए पनि सबै परीक्षार्थीहरुलाई ग्रडबृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाएको हुँदा अब हामीले यसलाई अवसरको रुपमा उपयोग गर्नु पर्दछ ।
SEE 2080 मा उत्तीर्ण भएका विद्यार्थीहरुलाई अब कक्षा ११ र १२ को शिक्षाको प्रवन्ध गर्दै परीक्षामा NG आएका विद्यार्थीहरुलाई हामीले सफलता प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु छ । यहाँका नानीबाबुहरु उत्तीर्ण भएका मा यहाँहरुलाई हार्दिक बधाई छ । हाम्रो विद्यालयमा कक्षा ११ मा शिक्षा र व्यवस्थापन संकायमा भर्ना खुलि सकेको जानकारी गराउन चाहन्छौं । हामीलाई सेवा गर्ने अवसर अवश्य प्रदान गर्नु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।
अभिभावक ज्यूहरु, कतिपय यहाँका नानीबाबुहरुले परीक्षामा NG प्राप्त गरेका होलान् । परीक्षा हो सँधै सफलता मात्र कहाँ हात लाग्छ र ! यसमा धेरै दुखी नहुनु होला । असफलता पछि सफलता अवश्य हासिल हुन्छ । आफ्ना नानीबाबुहरुलाई थप मेहनत गर्नका लागि अभिप्रेरित गर्नु हुने नै छ ।
विद्यालयले एस.ई.ई. २०८० मा NG प्राप्त गरेका विद्यार्थीहरुलाई लक्षित गरि आज मिति २०८१/०३/१७ गते बाट अतिरिक्त कक्षाहरुको व्यवस्था गरेको छ । आज बाट गणित र विज्ञानका कक्षाहरु सञ्चालनमा आएका छन् । विद्यालयमा वर्षे बिदा भए पनि हामीले आवश्यकता परेका सबै विषयहरुको अतिरिक्त कक्षा को प्रवन्ध मिलाउने योजना बनाएका छौं । कृपया आफ्ना नानीबाबुहरुलाई उक्त कक्षामा सहभागी गराइ दिन हुन हामी हार्दिक अपिल गर्दछौं ।
राष्ट्रिय परीक्षा बोर्डले आगामि श्रावण २३ गते देखि ३१ गते सम्म पुनः मौका परीक्षाको आयोजना गर्दैछ । उक्त परीक्षाका लागि हामीले सघन तयारी गर्नु पर्नेछ । यहाँका नानीबाबुहरु यहाँहरुको साथ मै होलान् । यदि कहिँ कतै गएका भए पनि उनीहरुलाई बोलाएर विद्यालयमा अध्ययन कार्यमा सहभागी गराइ दिन हुन हामी ग्रेडबृद्धि परीक्षामा सहभागी हुनुपर्ने सम्पूर्ण विद्यार्थीका अभिभावक ज्यूहरुमा हार्दिक अनुरोध गर्दछौं ।
गोविन्द प्रसाद भट्टराई
प्रधानाध्यापक
होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.
भानु २, तनहुँ