होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ
मितिः २०८०-१२-०८
विषयः हार्दिक अनुरोध ।
आदरणीय विद्यालयसँग सम्बद्ध सम्पूर्ण आदरणीय
अग्रज र अनुज वर्गमा हाम्रो विद्यालय श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक
विद्यालयको तर्फबाट सादर नमस्कार ।
सर्वप्रथम यहाँहरुले यस विद्यालयको स्थापनाकाल
देखि हाल सम्म करीव ७३ वर्ष पार गर्दै गर्दा विभिन्न कालखण्डमा विद्यालयको हित र
समुन्नतीका लागि पुर्याउनु भएको साथ, सहयोग र सद्भावको लागि हार्दिक कृतज्ञता
जाहेर गर्न चाहन्छु । हाम्रो शैक्षिक इतिहासका कठिन कालखण्डहरुमा यहाँहरुले
धैर्यतापूर्वक अपनाउनु भएको सावधानी र सङ्घर्ष नै हाम्रो विद्यालयको जग हो ।
परिणामतः आज हामी यो विद्यालयलाई माध्यमिक तह सम्म सञ्चालन गर्न समर्थ भएका छौं ।
यति मात्र होइन, साधारण शिक्षाको साथमा प्राविधिक तथा जीवनोपयोगी शिक्षाको अवसर
समेत सृजना गर्न सफल भएका छौं ।
मुठ्ठी, माना, पाथी र मुरीको सहायताले अर्थात्
तत्कालीन आवश्यकतामा यहाँहरुको सकारात्मक सोच र गच्छे अनुसारको स्वःस्फूर्त
सहयोगले आज होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय भानु नगरपालिका कै एक
अब्वल र उज्वल भविश्योन्मुख विद्यालयको रुपमा स्थापित छ । एउटा लामो इतिहास बोकेको
विद्यालयका सबै कालखण्डका प्रत्येक सारथीहरुको नाम लिन कति संभव होला ? तथापि सबै संस्थापक
ज्यूहरु, चन्दादाता, जग्गादाता, अक्षयकोषदाता, छात्रवृत्तिदाता, तथा श्रमदाता
ज्यूहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । स्थापनाकाल देखि हाल सम्म
विद्यालयमा रहेर शिक्षणको माध्यमबाट सेवा गर्नु हुने सम्पूर्ण गुरुहरु प्रति
हार्दिक नमन । यहाँहरुले फैलाउनु भएको ज्ञानको ज्योतिले यस क्षेत्रको मात्र नभई
मुलुक कै मानव संसाधन विकासका लागि सम्मान योग्य छ भन्ने कुरा यस विद्यालयमा
अध्ययन गर्नु भएका पूर्व विद्यार्थीहरुको हालको पोजिसनले स्पष्ट पारेकै छ । देशमा
होस् या विदेशमा, यस होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको उत्पादन
अब्वल सावित भएको छ । यसमा हामीले गर्व गर्छौं र यहि अवस्था भविश्य सम्म कायम
गर्नु छ । यसका लागि म यहाँहरु समक्ष सकारात्मक आलोचना, साथ, सहयोग र सद्भावको
अपेक्षा राख्दछु ।
हाम्रो विद्यालय श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. तत्कालीन शारद शिक्षा सदन मा.वि. भानु नगरपालिकाको नगर केन्द्रमा अवस्थित भानु नगरकै सबैभन्दा धेरै विद्यार्थीहरु अध्ययन गर्ने विद्यालय हो । वि.सं. २००८ मा स्थापित यो विद्यालय हाल साधारण तर्फ कक्षा बालविकास देखि कक्षा १२ सम्म र प्राविधिक तर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) द्वारा संवन्धन प्राप्त ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग सञ्चालित छ । विद्यालयमा यस शैक्षिक सत्र २०८० मा साधारण र प्राविधक दुबै तर्फ गरी जम्मा ६०२ जना विद्यार्थीहरु अध्ययनरत छन् । हाम्रो विद्यालयमा कक्षा १ देखि ८ सम्म प्रमुख ३ विषयहरु अंग्रेजी, गणित र विज्ञान अंग्रेजी माध्यममा अध्ययन र अध्यापन हुने गर्दछ भने कक्षा ९ र १० का नेपाली भाषा र सामाजिक अध्ययन बाहेक अन्य सबै विषयहरु नेपाली र अंग्रेजी दुबै माध्यममा अध्ययन अध्यापन हुने व्यवस्था छ । हामी विद्यालयमा समय सुहाउँदो सिकाइ वातावरण निर्माणमा प्रयासरत छौं ।
तनहुँकै शैक्षिक इतिहासमा राम्रो स्थान कायम
राख्दै आएको यस विद्यालयलाई अझ परिस्कृत र अपेक्षाकृत बनाउनु अहिलेको आवश्यकता हो
। सिकाइलाई थप प्रभावकारी र जीवनोपयोगी बनाउँदै गुणस्तरीय शिक्षाको सुनिश्चितता
हाम्रो लक्ष हो । यो लक्ष प्राप्तिका लागि विद्यालय, समुदाय, शिक्षक, विद्यार्थी र
अभिभावकहरु विच आपसी समझदारी र सहकार्यको आवश्यकता पर्दछ । सबैको सहभागीतामा
सहकार्य भएमा लक्ष प्राप्ति धेरै टाढा छैन । तसर्थ उल्लिखित सबैमा सहकार्यका लागि
म हार्दिक अपिल गर्दछु ।
"हामी बनाउँछौं, हाम्रो विद्यालय" भन्ने साझा भावनाको
अपनत्व मेरो विचारमा हाम्रो पहिलो आवश्यकता हो । हामी कोहि पूर्ण छैनौं र हुन पनि
सक्दैनौं । सायद यहि हो मानव जीवनको साश्वत सत्य । सत्यलाई अंगिकार गर्ने हो भने
हामी विच कुनै मतभेद नहोला । यदि मतभेद भए पनि आपसी छलफल र परामर्षबाट यसको निराकरण
गर्न नसकिने भन्ने पक्कै हुँदैन । यत्ति हो हाम्रो लक्ष एक हुनु पर्दछ । त्यो के
हो भने हाम्रो विद्यालयको समुन्नती र विकास । विद्यालयको समुन्नती र विकासको डिग्री
यसले गर्ने उत्पादन (जनशक्ति) ले निर्धारण गर्दछ । उत्पादन भए पछि त्यसले बजार
पाउनु पर्दछ । बजार पाउनु भनेको सजिलै बिक्नु हो । त्यसैले हाम्रो लक्ष बिकाउ र
टीकाउ जनशक्ति उत्पादन गर्नु हो । समयको क्रमसँगै अहिले हाम्रो उत्पादन देशमा मात्र
नभई संसारभर बिकाउ र टिकाउ हुनु पर्ने अवस्था सृजना भएको छ ।
पछिल्लो समय तीब्र विकास भएको प्रविधिलाई सिकाइ
सहजीकरणमा उपयोग गर्न सकिए पठनपाठन कृयाकलापप्रति नयाँ पिंढिलाई आकर्षित गर्न सकिने
तथ्यलाई नकार्न निमिल्ला । यसका लागि कक्षाकोठाको सिकाइ वातावरण परिवर्तन गर्न
आवश्यक छ । परम्परागत कक्षाकोठालाई प्रविधियुक्त बनाइनु पर्दछ । तर यो सजिलो छैन ।
हामीले केहि कक्षाकोठाहरुमा मल्टिमिडियाको प्रयोगको प्रारम्भ गरेका छौं । तर यो
पर्याप्त हुन सकेको छैन । यसको पर्याप्तताका लागि हामी सबै एकजुट हुन जरुरी छ ।
विद्यालयका सुसंस्कृत नागरिक निर्माण कार्यको प्रयास भईरहँदा धेरै चुनौतीहरु देखा
पर्ने गर्दछन् । यसको सामना गर्न हामी एकजुट हुन जरुरी छ । व्यवहार परिवर्तन गरी
सुसंकृत संस्कारको विकास गर्नका लागि यहाँहरुको साथ, सहयोग र सद्भाव हाम्रो
अपेक्षा हो ।
आदरणीय अग्रज व्यक्तित्वहरु, कृपया हाम्रो
कार्यमा प्रत्यक्ष निगरानी राखि उचित सल्लाह र सुझाव दिइ मार्गनिर्देश गर्न हुन म
विद्यालयको तर्फबाट हार्दिक अनुरोध गर्दछु । अभिभावक ज्यूहरु, यहाँका
नानीबाबुहरुको दैनिकीको ख्याल गरि दिनु होला । कति बेला विद्यालय जान्छन् ? कति
बेला फर्किन्छन् ? कति गृहकार्य गर्छन् ? क-कसको संगतमा छन् ? कस्तो व्यवहार
देखाउँछन् ? के समस्या छ ? आदि जस्ता विषयमा निगरानी राखि विद्यालय सँग प्रत्यक्ष
संपर्कमा रहि नियमित विद्यालयमा आफ्ना नानीबाबुहरुको सिकाइका विषयमा सजग भई दिन
अनुरोध छ ।
विद्यालयले नियमितरुपमा विद्यालयमा विभिन्न
कक्षाहरुको अभिभावक भेला सञ्चालन गर्ने गरेको छ । अभिभावक भेलामा अभिभावकको सहभागीता
पहिलो सर्त हो । न्यून उपस्थिति भएका कार्यक्रम कार्यान्वयन प्रकृया प्रभावकारी
नहुने हुँदा अभिभावक भेलाहरुमा यहाँहरुको उपस्थिति अनिवार्य हुन्छ । कृपया विद्यालय
आउन र आफ्ना नानीबाबुहरुको सिकाइ प्रगतिका विषयमा सोधपुछ गर्न झन्झट नमानी दिनु
होला ।
हाम्रो क्याचमेन्ट एरिया ठूलो छ । धेरै टाढाबाट
विद्यार्थीहरु दैनिक आवतजावत गर्नु पर्दछ । हामीले विद्यालय बसको व्यवस्था गर्न
सकेका छैनौं । जसले गर्दा धेरै विद्यार्थीहरु सार्वजनिक यातायातको भर पर्नु परेको
छ । सार्वजनिक यातायात नियमित नहुँदा तोकिएको समयमा विद्यालय आउन कठिनाई भइरहेको छ
। यसलाई मध्यनजर गरी विद्यालयले शैक्षिक सत्र २०८१ मा विद्यालय बसको अवधारणा
ल्याउन लागेको छ । के कसरी व्यवस्था मिलाउन सकिएला ? यो विषयमा यहाँहरुको अमूल्य
सुझावको अपेक्षा गर्दछु । साथै यहाँहरुलाई लागेको जुनसुकै कुरा यहाँहरुले
विद्यालयमा राख्न सक्नु हुने जानकारीका साथ यहाँहरुको सकारात्मक साथ, सहयोग र
सद्भाव तथा सकारात्मक आलोचनाको अपेक्षा सहित आजको आलेख यहिँ अन्त्य गर्दछु ।
गोविन्द भट्टराई
प्रधानाध्यापक
होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.
भानु न.पा. २ , तनहुँ