श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु नगरपालिका -२, नारेश्वरटार, तनहुँ
मितिः २०८०/१२/०६
विषयः विवरण अद्यावधिक गरिएको बारे ।
प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय साविक श्री शारद शिक्षा सदन माध्यमिक विद्यालयमा स्थापना काल देखि हाल सम्म अध्यापन गर्नु भएका सम्पूर्ण शिक्षकहरुको विवरण अध्यावधिक गर्ने अभियान अन्तरगत यस विद्यालयमा शिक्षण मार्फत योगदान पुर्याउनु हुने शिक्षकहरुको विवरण अध्यावधिक गराउने क्रममा आज भानु नगरपालिका वडा नं २ स्थायी ठेगाना भएका यस विद्यालयका पूर्व शिक्षक श्री मेघ बहादुर थापाको विवरण राख्ने प्रयास गरिएको छ ।
वि.सं २०१८ साल बैसाख १५ गते तनहुँ जिल्ला भानु नगरपालिका वडा नं २ स्थित तिवारीटारमा जन्मनु भएका यस विद्यालयका पूर्व शिक्षक श्री मेघ बहादुर थापाले आफ्नो प्रारम्भिक अध्ययन श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. मा शुरु गरी कक्षा ६ सम्मको अध्ययन पूरा गर्नु भएको थियो । वहाँले वि.सं. २०३५ मा श्री चन्द्रावती माध्यमिक विद्यालय चुँदिबाट प्रवेशीका परीक्षा उत्तीर्ण गरी वि.सं. २०३९ फागुन ५ गते बाट प्राथमिक तहको शिक्षक पदमा नियुक्ति लिइ यस श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. साविक श्री शारद शिक्षा सदन मा.वि. बाट अध्यापन कार्यको शुरुवात गर्नु भएको थियो । वहाँले यस विद्यालयमा निरन्तररुपमा सेवा गरी वि.सं. २०७२ मंसिर १ बाट स्वेच्छिक अवकास लिनु भएको थियो । वहाँले यस विद्यालयमा ३२ वर्ष ८ महिना २५ दिन प्राथमिक तह द्वितीय श्रेणी स्थायी शिक्षको भूमिका निर्वाह गर्न भएको थियो ।
शिक्षणका क्रममा वहाँ एउटा शिक्षक मात्र नभई विद्यालयको पूर्व विद्यार्थी समेत भएका कारण वहाँले विद्यालयीय हित, विकास र समुन्नतीका लागि ठूलो योगदान पुर्याउनु भएको छ । वहाँले विद्यालयको तत्कालीन आवश्यकता परिपुर्तिका लागि निरन्तर सहयोग गर्नु भएको छ । हाल निवृत्त भए पश्चात् पनि वहाँले विद्यालयलाई निरन्तर सहयोग गर्दै आउनु भएको छ ।
वहाँले विद्यालयमा शिक्षकको रुपमा प्रवेश गरे सँगै वि.सं. २०३९ मा वहाँको हजुरबुबा स्व. कृष्ण बहादुर थापाको स्मृतिमा हजुरआमा मैना कुमारी थापा लगायत थापा परिवारको तर्फबाट विद्यालयमा एक कक्षाकोठा आफ्नै खर्चमा निर्माण गरी तत्कालीन आवश्यकता परिपुर्तिका लागि सहयोग गर्नु भएको थियो । तत्कालीन अवस्थामा सहयोगको शीलालेख निर्माण गरिए पनि कालान्तरमा उक्त शीलालेख भवन भत्काउने क्रममा भत्किएको थियो ।
सेवा निवृत्त भए पश्चात् शिक्षक श्री मेघ बहादुर थापाले आफ्नी श्रीमती स्व. सीता थापाको स्मृतिमा यस विद्यालयमा रु १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको स्व. सीता थापा स्मृति अक्षयकोष २०७४ स्थापना गराउनु भएको छ । यस कोषको वार्षिक व्याज रकमबाट ताहाँउप्रान्त विद्यालयको हरेक वार्षिकोत्सवमा कार्यविधि बमोजिम विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आउनु भएको छ । वहाँले विद्यालय परिसरमा रहेको पिपलको रुखमा चौतारो निर्माण समेत गर्नु भएको कुरा प्रशंसनीय छ ।
वहाँले देश विदेश मा रहनुहुने आफन्तजन, साथीभाई तथा इष्टमित्रहरुलाई समेत विद्यालयको हित र समुन्नतीका लागि विद्यालयसँग जोड्ने कार्यलाई निरन्तरता दिइरहनु भएको छ । वहाँबाट भविश्यमा समेत यस विद्यालयलाई साथ सहयोग र सद्भाव प्राप्त हुने कुरामा विद्यालय विश्वस्त छ ।
वहाँले विद्यालयमा पुर्याउनु भएको योगदानको कदर गर्दै आगामि दिनमा समेत वहाँको सहयोगको अपेक्षा गर्दछौं ।
प्रधानाध्यापक
होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु नगरपालिका २, तनहुँ