पूर्व शिक्षक श्री विष्णु प्रसाद मिश्र (Bishnu Prasad Mishra)

Horaloupdate
By -
0

 

श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका -२, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/१०

विषयः विवरण अद्यावधिक गरिएको बारे ।

गण्डकी प्रदेश तनहुँ जिल्ला भानु नगरपालिका वडा नं २ स्थित श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयकमा स्थापनाकाल देखि अध्ययन अध्यापनमा सहभागी हुनु हुने गुरुवर्गहरुको अभिलेखीकरण अभियानका दौरान आज एक जना पूर्व शिक्षक तथा पूर्व विद्यार्थीको विषयमा चर्चा गर्ने प्रयास गरिएको छ । भानु नगरपालिका वडा नं १ स्थायी ठेगाना भएका वहाँ यस क्षेत्रकै एक प्रतिष्ठित व्यक्तित्वका रुपमा चिनिनुहुन्छ । त्यो चीरपरिचित नाम हो विष्णु प्रसाद मिश्र ।


तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं ८ बाहुनपोखरामा वि.सं. २०२० असार २३ गते जन्मनुभएका मिश्रले हाम्रो विद्यालयमा कक्षा ५, ६ र ७ अध्ययन गर्नु भएको थियो । कक्षा ८ देखि हालको आबुखैरेनी गाउँपालिका वडा नं १ सत्रसयमा अवस्थित श्री मित्रता माध्यमिक विद्यालयमा अध्ययन गरी  वि.सं. २०३८ मा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु भएको थियो । प्रवेशिकाको समाप्ति सँगै वहाँ व्यास नगरपालिका  वडा नं स्थित श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय शिशाघाट तनहुँमा वि.सं. २०३९ श्रावण महिनामा प्राथमिक तह शिक्षकको रुपमा अध्यापन शुरु गर्नु भएको थियो । करीब १ वर्षको अध्यापनपश्चात वहाँले वि.सं. २०४० फाल्गुण १ देखि वि.सं. २०४१ मंसिर मसान्त सम्म हाम्रो विद्यालय तत्कालीन श्री शारद शिक्षा सदन मा.वि. भानु २, नारेश्वरटार तनहुँमा प्राथमिक तह शिक्षकको रुपमा सेवा गर्नु भएको थियो ।

पूर्व शिक्षक विष्णु प्रसाद मिश्र आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइरहनु भएको थियो । वहाँले वि.सं. २०४३ मा महेन्द्र रत्न क्याम्पस ताहाचल काठमाण्डौ बाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गर्नु भयो भने वहाँले स्नातक तह पोखरा स्थित श्री पृथ्वीनारायण क्याम्पसबाट वि.सं. २०४६ मा पूरा गर्नु भएको थियो । 

स्नातक तह पूरा गरे पश्चात् वहाँ श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. मा माध्यमिक तह विज्ञान विषय शिक्षकका रुपमा अपग्रेड भई वि.सं. २०५० माघ मसान्त सम्म अध्यापन गर्नु भएको थियो । वहाँले पछिल्लो समय वि.सं. २०४५ जेठ १ देखि २०५० माघ २९ सम्म यस विद्यालयमा निरन्तर सेवा गर्नु भएको थियो । यस विद्यालयमा २ पटक गरी वहाँले करीब ६ वर्ष सेवा गर्नु भएको छ ।

शिक्षण पेसाबाट आफ्नो क्यारियर शुरु गर्नु भएका मिश्र सरले वि.सं. २०५० मा नेपाल सरकारको अधिकृत तहमा नाम निकाल्न सफल हुनुभयो र मिति २०५० माघ २९ गते बाट नेपाल सरकारको अफिसर (शिक्षा) पदमा नियुक्त भई तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखामा सेवा प्रारम्भ गर्नु भएको थियो । दुई वर्षको सेवा पश्चात् वहाँ जिल्ला शिक्षा कार्यालय मुस्ताङमा सरुवा हुनु भयो । त्यहाँको करीब १ वर्षको वसाई पश्चात् वहाँ जिल्ला शिक्षा कार्यालय स्याङ्गजामा वि.सं. २०५३ मा अफिसरको भूमिकामा कार्यरत रहनु भएको थियो । वहाँले नेपाल सरकारको सेवामा रहेर नै युनिभर्सिटी क्याम्पस किर्तिपुरबाट Curriculum Development मा डिग्री हासिल गर्नु भयो ।

वि.सं. २०५४ मा वहाँ जिल्ला शिक्षा कार्यालय दैलेखमा सरुवा हुनु भयो । करीब २ वर्षको दैलेख बसाई पश्चात् वहाँ  वि.सं. २०५६ मा शिक्षा तालिम केन्द्र दमौली तनहुँमा सरुवा हुनु भयो । तालिम केन्द्रमा करीव २ वर्षको तालिम सहजीकरण पश्चात् वहाँ वि.सं. २०५८ मा पुनः जिल्ला शिक्षा कार्यालय दैलेखमा सरुवा हुनु भयो । करीब १ वर्षको सेवा पश्चात् वहाँ पुनः शिक्षा तालिम केन्द्र दमौली तनहुँमा वि.सं. २०५९ मा सरुवा हुनु भयो । 

वि.सं. २०६० मा शिक्षा तालिम केन्द्र भोजपुरको सिनियर इन्सट्रक्टरका रुपमा वहाँले कार्य सम्पादन गर्नु भयो । वहाँले वि.सं. २०६३ देखि २०६४ सम्म उच्च शिक्षा अन्तरगत एम फिल गर्नका लागि अध्ययन बिदा लिनु भयो र त्रिभुवन विश्वविद्यालय बाट वि.सं. २०६४ मा Development Studies मा एम फिल पूरा गर्नु भएको थियो ।

वहाँले अध्ययनपश्चात् वि.सं. २०६४ देखि २०७० सम्म अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरमा सेवा गर्नु भएको थियो । तत्पश्चात्  नेपाल सरकारको उपसचिवका ‍भूमिकामा वहाँ  वि.सं. २०७० देखि २०७२ सम्म जिल्ला शिक्षा कार्यालय बागलुङ्गमा जिल्ला शिक्षा अधिकारीको भूमिका मा सेवामा रहनु भयो । वि.सं. २०७३ मा वहाँको सरुवा परीक्षा नियन्त्रण कार्यालयमा भयो । वि.सं. २०७४ देखि २०७६ सम्म वहाँ शिक्षा मन्त्रालयमा कार्यरत हुनुहुन्थो । वहाँ वि.सं. २०७७ देखि २०७८ सम्म पुनर्निर्माण प्राधिकरण गोरखामा प्रमुखको भूमिकामा रहनु भयो । वहाँको दरबन्दि भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको थियो । वहाँले २०७९ असारबाट नेपाल सरकारको निजामति सेवाबाट उपसचिवको रुपमा अवकास लिनु भयो ।

मिश्र सर यस विद्यालयको पूर्व विद्यार्थी पनि हुनुहुन्छ । वहाँले पूर्व शिक्षकका रुपमा पनि यस विद्यालयमा सेवा गर्नु भएको छ । सेवा भन्दा बाहिर रहेर पनि वहाँले यस विद्यालयको हित र समुन्नतीका लागि साथ सहयोग र सद्गाव  राख्नु भएको छ । हामी वहाँको निरन्तर सहयोगको अपेक्षा राख्दछौं ।

अहिले मिश्र सर सामाजिक जीवनमा सकृय हुनुहुन्छ । वहाँ विभिन्न सँघसंस्था र समूहमा आवद्ध भएर समाज सेवामा लाग्नु भएको छ । वहाँले भानु नगरपालिका वडा नं २ स्थित तनहुँ शारदा कलेजमा अध्यापन समेत गर्दै आउनु भएको छ । हाम्रो विद्यालयमा गत वर्ष स्थापना गरिएको पूर्व विद्यार्थी समाजको संयोजकको भूमिका निर्वाह गर्दै आउनु भएको छ । 

होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज बाट विद्यालयले हित र समुन्नतीमा ठूलो आशा र भरोसा राखेको छ । सबै पूर्व विद्यार्थीहरुलाई एकत्रित गरी विद्यालयको शैक्षिक कार्यमा सहकार्य गर्ने वातावरण निर्माण गर्ने कार्यमा मिश्र सर नेतृत्वको पूर्व विद्यार्थी समाजले भूमिका खेल्ने कुरामा विद्यालय विश्वस्त छ । 

हाम्रो विद्यालय श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. तत्कालीन श्री शारद शिक्षा सदन मा.वि. का स्थापनाकाल देखिका धेरै मेधावी विद्यार्थीहरु मध्येका एक मिश्र सर लामो समय नेपाल सरकारको सेवामा रहेर शिक्षा क्षेत्रको विकासका लागि काम गरेका एक उर्जाशील व्यक्तिका रुपमा चिनिनुहुन्छ । वहाँले वहाँको निवृत्त जीवनमा हाल यस विद्यालयको समामाजिक परीक्षण समिति अन्तरगतको प्राविधिक समितको विज्ञको भूमिका निर्वाह गर्दै आउनु भएको छ । वहाँको सल्लाह र सुझावलाई शीरोधार्य गरी विद्यालयलाई एउटा प्रणालीगत रुपमा सञ्चालनमा ल्याउनका लागि विद्यालय प्रयत्नशील रहने कुराको स्मरण गर्दै भविश्यमा अझ धेरै साथ सहयोग र सद्भावको अपेक्षा राख्दछौं ।

मिश्र सरको वैयक्तिक जीवन सुखमय बनोस् । शुभकामना ।

प्रधानाध्यापक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

भानु न.पा. २, तनहुँ





Post a Comment

0Comments

Post a Comment (0)