श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.
भानु नगरपालिका २, तनहुँ
मिति: २०८१/०४/३२
आज विद्यालयका सहायक प्रधानाध्यापक तथा गुनासो सुन्ने अधिकारी श्री दिवाकर घिमिरेको बिदाई सम्पन्न भएको छ । घिमिरेले विद्यालयमा लामो समय सेवा गर्नु भएको छ ।
भानु नगरपालिका वडा नं १ स्थायी ठेगाना भएका घिमिरे ले वि.सं. २०६१ कार्तिक २२ गते यसै विद्यालयमा माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदमा स्थायी नियुक्ति प्राप्त गर्नु भएको थियो । तत् पश्चात् घिमिरेले आफ्नो जीवनको सम्पूर्ण शिक्षण अवधि यसै विद्यालयमा बिताउनु भएको थियो ।
नेपाली गुरुका नामले परिचित घिमिरेले विद्यालयको सिकाइ व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । वहाँले शिक्षणका अलावा लामो समय सम्म सहायक प्रधानाध्यापकको भूमिका निर्वाह गरी विद्यालयीय हित र समुन्नतीका लागि योगदान पुर्याउनु भएको थियो ।
सरल जीवनशैलीका घिमिरे मृदुभाषी, मिलनसार, सहनशील र काम प्रति लगनशील हुनुहुन्थ्यो । सकारात्मकता र सहयोग वहाँको पहिचान नै थियो । वहाँले विद्यालयको शैक्षिक विकासमा ठूलो योगदान गर्नु भएको छ ।
वहाँलाई आज विद्यालयले औपचारिक रुपमा बिदाई गरेको छ । विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नवीनराज दाहाल, सदस्य श्री परशुराम गैह्रे लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट कक्षा १० छात्रा सन्ध्या वि.क. र कक्षा १२ का छात्र योयल तामाङले घिमिरे सरको सम्मान गर्दै वहाँको योगदानको प्रशंसा गरेका थिए । त्यस्तै गरेर शिक्षकहरुको तर्फबाट श्री विष्णुमायाँ तिमिल्सिनाले गीतको माध्यमबाट सरको आगामि निवृत्त जीवनको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
विद्यालयका शिक्षक श्री निराजन भट्टले घिमिरे सर होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. को एक शैक्षिक धरोहर भएको र वहाँलाई गुमाउनु पर्दा विद्यालयलाई क्षति भएको कुरा उल्लेख गर्दै वहाँको सुखमय निवृत्त जीवनको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नवीनराज दाहालले वहाँको योगदानको चर्चा गर्दै आगामि दिनहरुमा समेत विद्यालयीय हित र समुन्नतिका लागि वहाँको साथ, सहयोग र सद्भाव रहने कुरामा आफू विश्वस्त रहेको बताउनु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद भट्टराईले विद्यालयको तर्फबाट घिमिरे सरले पुर्याउनु भएको योगदानको उच्च सम्मान व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक श्री हरिश्चन्द्र अधिकारीले उपस्थित सम्पूर्णमा स्वागत गर्दै घिमिरे सरको निवृत्त जीवन सुखमय रहोस् भन्दै वहाँको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक श्री दिनेश थापाले गर्नु भएको थियो । कार्यक्रममा विद्यालय स्टाफ तथा विद्यार्थीहरुले घिमिरे सरलाई सम्झना स्वरुपमा चीनो प्रदान गरेका थिए ।
कार्यक्रमका केहि झलकहरुः