बालिका शिक्षा संयुक्त अनुगमन सम्पन्न
भानु तनहुँ
१९ असोज २०८०
गण्डकी प्रदेश तनहुँ जिल्ला भानु नगरपालिका वडा नं २ स्थित श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा रुम टु रिड तनहुँ द्वारा स्थानीय तहसँग सहकार्य गरी बालिका शिक्षा कार्यक्रमको संयुक्त अनुगमन कार्य सम्पन्न भएको छ ।
यस विद्यालयमा सन् २०१८ देखि बालिका शिक्षा लागू भएको छ । कार्यक्रममा रुम टु रिड तनहुँबाट कार्यक्रम अधिकृतहरुको सहभागिता रहेको थियो । भानु नगरपालिकाका नगर प्रमुख श्री आनन्दराज त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत श्री दिवाकर घिमिरे, तथा २ नं वडा का वडाध्यक्ष श्री केशवराज त्रिपाठी र ३ नं वडा सदस्य श्री अमित लामा, नगरपालिकाबाट प्रतिनिधित्व गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नवीनराज दाहाल, विद्यालयका प्रधानाध्यापक श्री गोविन्द प्रसाद भट्टराई , सहायक प्र.अ. दिवाकर घिमिरे र फोकल टिचर श्री विष्णुमायाँ तिमल्सिनाले विद्यालयको प्रतिनिधित्व गर्नु भएको थियो ।कार्यक्रममा रुम टु रिडका सहजकर्ता श्री खुसमनी थारु र शान्ति चौधरीले बालिकाहरुलाई सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा बालिकाहरुसँग प्रत्यक्ष अन्तरकृया भएको थियो ।
सरोकारवाला पक्षहरुमा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
बालिकाहरुले विद्यालयमा विद्यमान समस्याका बारेमा कुरा उठाएका थिए ।
शिक्षक अभिभावक सँघका संयोजक श्री रन बहादुर वि.क. ले यो कार्यक्रमको निरन्तरताका लागि स्थानीय सरकारले समन्वय गरी सधैंका लागि कार्यक्रम लागू गर्नु पर्ने बताउनु भएको थियो ।
२ नं वडाका वडाध्यक्ष श्री केशवराज त्रिपाठीले बालिकाहरुका लागि आवश्यक सहयोग र समन्वय गर्न वडा कार्यालय तत्पर रहेको र यस आर्थिक वर्षमा सानो छात्रवृत्ति रकम छुट्याएको जानकारी गराउनु भएको थियो । उपयोगी रहेको र यसमा बालकहरुलाई समावेश गर्न सके अझ राम्रो हुने कुरा राख्नु भएको थियो ।
भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले विभिन्न दृष्टान्त दिँदै रुम टु रिड सँग सहकार्य गर्न नगर इच्छुक रहेको कुरा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा भानु नगरका मेयर श्री आनन्दराज त्रिपाठीले आफ्नो स्कूले जीवनको स्मरण गर्दै नानीहरुलाई योग सँग सम्बन्धित तालिमको प्रवन्ध मिलाउने र भविश्यमा मित्रराष्ट्र भारतका प्रतिष्ठित विद्यालयहरुमा विद्यालयका विद्यार्थी तथा शिक्षक अभिभावकहरुलाई भ्रमण गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
मेयर त्रिपाठीले प्रत्येक शुक्रबार नियमित विद्यालय सरसफाईलाई कार्यान्वयन गर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद भट्टराईले यसको महत्व माथी प्रकाश पार्दै उपस्थित पाहुनाहरुको स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा प्राइम टाइम्स टेलिभिजनका तनहुँ संवाददाता श्री विकास खनाल लगायत स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो ।